बोल्दा बोल्दै बिते जिफन्ट उपाध्यक्ष कमल गौतम

के छ नेपाल
१४ कार्तिक २०८२ १३:३३

काठमाडौं । राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट)का केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन भएको छ।

बिहीबार भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा मन्तव्य गरिरहेका बेला ६५ वर्षीय गौतम अचानक ढलेका थिए।

उनलाई तत्काल मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याइएको थियो। तर चिकित्सकले उपचारका क्रममा उनलाई मृत घोषणा गरेका हुन्।

धर्ना कार्यक्रममा बोल्दै उनी केही आक्रोशित मुद्रामा प्रस्तुत भएका थिए । उनले सरकारले उद्योगहरूलाई फसाएको आरोप लगाउँदै श्रमिकहरूलाई एकजुट भएर आन्दोलन गर्न आग्रह गरेका थिए ।

उनले उद्योगीहरूले नियमित रूपमा मासिक रूपमै बिद्युत् महसुल तिर्दै आएकोमा एक्कासि ४ वर्षको बिल थमाउँदा उनीहरू पिडित भएको बताएका थिए । “आम जनमानसमा भ्रम सृजना गरेर उद्योगीहरूले ठगेका छन् भन्ने पारिएको छ, म यैबाट प्रमाण दिन चाहन्छु उद्योगपतिले ठगेको छैन ।” उनले भने “सरकार र विद्युत प्राधिकरणको गैर जिम्मेवारीपनको कारणले यो भएको हो, यो पैसा विद्युतका कर्मचारीहरूले आफ्नो खल्तीबाट तिर्नुपर्छ ।”

उनले यो आन्दोलनलाई साङ्केतिक रूपमा मात्र लिन जरुरी रहेको र २५ हजार श्रमिकहरूको रोजगारी गुम्दै गएको बताए । उनले श्रमिकहरूलाई गुमाउन नचाहेको बत्ताउँदा बताउँदै उनको बोली लरबरिएको थियो । “अतः यो कारणले‘‘‘।।” भन्दै गर्दा उनी ढले ।

गौतम बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका स्थायी बासिन्दा हुन ।


धेरै पढिएको