प्राधिकरणले बिजुली काटेका उद्योगको संख्या २४ पुग्यो

के छ नेपाल
१० कार्तिक २०८२ १०:०६

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत् उपभोग गरी प्रिमियम महसुल नतिरेका थप १८ उद्योगको विद्युत् काटेको छ ।

प्राधिकरणले शुक्रबार राति ती उद्योगको बिजुली काटेको हो । यससँगै प्राधिकरणले बिजुली काटेका उद्योगको संख्या २४ पुगेको छ ।
यसअघि गत मंगलबार ६ उद्योगको बिजुली काटेको थियो ।

हिमाल आइरन, त्रिवेणी सिन्थेटिक यार्न, कसमस सिमेन्ट, पञ्चकन्या स्टिल, श्याम प्लास्टिक, गोयन्का फुड्स, एसआर स्टिल, पञ्चकन्या प्लास्टिक, भलबारी स्वचालित कारखाना, जगदम्बा सिन्थेटिक, एभरेस्ट रोलिङ, घराना फुड्स, विशाल सिमेन्ट, एसआर फुड्स, सिद्धार्थ पेट प्लास्ट, बुटवल सिमेन्ट, सोना मिनरलस एन्ड आयल्स र निगाले सिमेन्टको बिजुली काटिएको प्राधिकरणले जनाएको छ । यसअघि प्राधिकरणले जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् लाइन काटेको थियो ।

प्राधिकरणले १२ असोजमा प्रशासकीय पुनरावलोकनसँग सम्बन्धित सम्पूर्ण कामकारबाही बदर गरिएको भन्दै १७ कात्तिकभित्र बक्यौता भुक्तान गर्न सूचना जारी गरेको थियो । बक्यौता तिर्न चाहने उद्योगीका लागि २८ महिनाको किस्ताबन्दी सुविधा दिइने उक्त सूचनामा उल्लेख छ । १३ असोजमा प्राधिकरणले अघिल्लो सूचना सच्याउँदै २ कात्तिकभित्र बक्यौता बुझाउन पुनः सूचना जारी गरेको थियो ।

प्राधिकरणको सूचनाअनुसार गत आइतबार उद्योगीहरूले सम्पूर्ण बक्यौता एकै पटक बुझाउने वा किस्ता सुविधा लिएर २८ किस्तामा बुझाइसक्ने सुविधा लिन सक्थे । त्यसको भोलिपल्ट सोमबार लक्ष्मीपूजा भएकाले प्राधिकरणले बिजुली काट्ने प्रक्रिया अघि नबढाएको समेत प्राधिकरणले बताएको छ ।

 


धेरै पढिएको