बेलौरीमा दुई जेनजी समूह आमनेसामने : एक पक्षको दैनिक आन्दोलन, अर्कोको आपत्ति

के छ नेपाल
२४ असोज २०८२ २०:०१

बेलौरी । कञ्चनपुरको बेलौरीमा पछिल्ला दिनहरूमा जेनजी समूह युवा र उनका समर्थकहरूले निरन्तर आन्दोलन गरिरहेका छन्। करिब एक महिनादेखि जारी धर्ना र नाराबाजीका क्रममा अब आन्दोलन दुई भागमा विभाजित देखिएको छ ।

एक पक्ष निरन्तर सडकमा छ भने अर्को पक्षले सो आन्दोलनको शैलीप्रति आपत्ति जनाएको छ।

सुरुमा नेतृत्वविहीन रहेको आन्दोलनकारी समूहले हालै केशव बोहराको संयोजकत्वमा जेनजी समूहको टिम गठन गरेको छ ।

उक्त समूहले संविधान चोकलाई आधिकारिक रूपमा “जेनजी चोक” घोषणा गर्नुपर्ने, पालिकामा राजनीतिक पहुँचका आधारमा नियुक्त भएका करार कर्मचारी खारेज गर्नुपर्ने, अलपत्र सडक तथा अधुरा आयोजना पूरा गर्नुपर्ने  लगायत विभिन्न मागसहित आन्दोलन जारी राखेको छ।

यो समूह दैनिक रूपमा नगरपालिका परिसर र बजार क्षेत्रमा १/२ घण्टा नाराबाजी गर्दै फर्किने गरेको छ। यो भइरहेको एक महिना पुग्नै आँटेपनि माग पूरा नभएपछि असन्तुष्टि थपिदै गएको छ । विस्तारै अन्य उमेर समुहका सर्मथक पनि थपिदै जादै छन । विभिन्न वडाबाट पनि जेनजी थपिदै गएका छन ।

पालिकाले वार्ताका लागि पटक–पटक आह्वान गरे पनि जेनजी समूहले अस्वीकार गरेको कारण वार्ता अझै हुन सकेको छैन।

वार्ता नभएपछि विहिवार मुख्य तीन राजनीतिक दल (कांग्रेस, एमाले र माओवादी)ले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै संविधानको अवधीसम्म संविधान चोकको नाम परिवर्तन नगरिने स्पष्ट पारेका छन्।

यसबीच, सिबाजी कुँवर र ऋचा चौधरी नेतृत्वको अर्को समूहले बुधबार नगरपालिका प्रमुख पोतिलाल चौधरीलाई ज्ञापनपत्र बुझाउँदै फरक दृष्टिकोण सार्वजनिक गरेको छ। उनीहरूले जनप्रतिनिधि र कर्मचारीमाथि धम्की, चरित्र हत्या, घर तथा सम्पत्तिमा आगजनी गर्ने जस्ता गतिविधि केही जेनजी पक्षधरहरूबाट भइरहेको आरोप लगाएका छन्।

ज्ञापनपत्रमा भनिएको छ, “बेलौरीभित्र केही व्यक्तिहरूले व्यक्तिगत स्वार्थका कारण निरन्तर धर्ना र अवरोध गर्दै कार्यालयको कामकाजमा बाधा पुर्‍याइरहेका छन्। जेन–जी आन्दोलनको मूल मन्त्र भ्रष्टाचारमुक्त, उत्तरदायी र जनमुखी शासन हो, तर यस्ता स्वार्थपरक क्रियाकलापहरूले जनताको मर्म र सहिदको बलिदानमाथि ठट्टा गरेका छन्।”

बेलौरी नगरपालिकाले १२ असोजमा जारी गरेको धारणा वक्तव्यमा जेनजी चोकको विषय सर्वपक्षीय सहमतिअनुसार टुंगोमा पुग्ने, करार कर्मचारीसम्बन्धी विषय कानुनी प्रक्रियाअनुसार अघि बढिरहेको, र सडक, सरसफाइ तथा ढल व्यवस्थापनका काम निरन्तर सञ्चालनमा रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

यसरी, बेलौरीमा जेन–जी आन्दोलन दुई धारमा विभाजित हुँदै जाँदा नगरको राजनीतिक तथा सामाजिक वातावरणमा थप तनाव हुने अनुमान गर्न सकिन्छ ।


धेरै पढिएको