‘बैंकिङ क्षेत्रलाई लक्षित गरी भ्रमक समाचार फैलाइयो’

के छ नेपाल
२५ माघ २०८१ १८:३९

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक सञ्जालमार्फत बैंकिङ क्षेत्रलाई लक्षित गरी फैलाइएका भ्रामक सूचनाहरूप्रति आपत्ति जनाएका छन्। नेपाल बैंकर्स सङ्घ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन, नेपाल वित्तीय संस्था सङ्घ र नेपाल लघुवित्त बैंकर्स सङ्घले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै भ्रामक सूचनाहरूप्रति आपत्ति जनाएका हुन ।

विज्ञप्तिमा उल्लेख गरिए अनुसार, नेपालका बैंक, वित्तीय संस्था र लघुवित्त संस्थाहरूमा जोखिम बहन गर्ने क्षमता रहेको छ र यी संस्थाहरू सुरक्षित रहेको भनिएको छ । सामाजिक सञ्जालमा बैंक तथा वित्तीय संस्थाहरूको नाम प्रयोग गरी फैलाइएका भ्रामक र गलत सूचनाहरूले यस क्षेत्रलाई अस्थिर बनाउने प्रयास भइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बैंकका छाता संस्थाहरूले सबै बैंक तथा वित्तीय संस्थाहरूमा रहेका ग्राहकहरूको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको बताएका छन्। साथै, सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सूचनाहरू प्रति ध्यान नदिई, आधिकारिक स्रोतबाट प्राप्त सूचना तथा समाचारलाई मात्र विश्वास गर्न अनुरोध गरिएको छ। यस्ता भ्रामक सूचना फैलाउने व्यक्ति वा समूहविरुद्ध कानूनी कारबाही गर्न पनि आग्रह गरिएको छ।

यसरी, बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना ग्राहकहरूलाई आश्वस्त गराउँदै सामाजिक सञ्जालमा फैलाइएका अफवाहहरूप्रति सतर्क रहन अपील गरेका छन्।


धेरै पढिएको