श्रीमानको पार्टीमा श्रीमतीले गुमाइन साधारण सदस्यको हैसियत
काठमाडौं । रञ्जिता श्रेष्ठले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को साधारण सदस्यको समेत हैसियत गुमाएकी छिन् ।
पार्टीभित्र आन्तरिक विवाद चर्कँदै गएपछि पार्टीका संरक्षक एवं रञ्जीताकै श्रीमान् रेशम पक्षको राष्ट्रिय भेलाले अध्यक्ष रञ्जिता श्रेष्ठलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी अध्यक्षबाट हटाउने निर्णय गरेको हो ।
अध्यक्षलाई हटाएसँगै पार्टीको नयाँ अध्यक्ष चयनबारे राष्ट्रिय भेलामा छलफल अगाडि बढाइएको छ ।
पार्टीका संस्थापक २१ जना केन्द्रीय सदस्यमध्ये बहुमत सदस्यले केन्द्रीय समिति बैठक बोलाउन आग्रह गर्दा पनि बेवास्ता गरेको, अनुशासन आयोगलाई स्पष्टीकरणको जवाफ नबुझाएको, पार्टीको विधान नमानेको कारण देखाएर भेलाले अध्यक्षलाई हटाउने निर्णय गरेको नागरिक उन्मुक्तिका संस्थापक केन्द्रीय सदस्य रामलाल डगौरा थारूले बताए।
त्यस्तै आफूखुसी कार्यवाहक अध्यक्ष तोकेको र भ्रष्टाचार काण्डमा मुछिएका कारण उनलाई हटाउने निर्णय गरिएको डगौराले जानकारी दिए।
यसअघि मंगलबार पार्टीको केन्द्रीय अनुशासन आयोगले अध्यक्ष श्रेष्ठलाई कारबाही गर्ने निर्णय गरेको थियो।
राष्ट्रिय भेलामा नागरिक उन्मुक्तिका २१ जना संस्थापक केन्द्रीय सदस्यमध्ये १२ जनाको उपस्थिति रहेको थियो।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस