देशको यथार्थ झल्काउने ‘जनै हराएको बाहुन’ को थिम संवाद

के छ नेपाल
२१ माघ २०८१ १२:४९

काठमाडौं । दिनदिनहुँ नेपाली युवाहरु  रहर र सपना पूरा गर्न विदेशिदैछन्। वृद्ध भइसकेका एक्ला बाबुआमालाई एक्लै छोडेर हिँड्नु परिरहेको वास्तविकतालाई फिल्म ‘जनै हराएको बाहुन’ को स्टोरी थिममा समेटेको छ। थिममा यो चलचित्रका मुख्य कलाकार विजय बराल र असोसियट निर्देशक तथा अभिनेता मनिष राउतको स्वर छ।

चलचित्रका दुई मुख्य पात्रको कारुणिक स्वरमा रहेको यो संवादले देशको अहिलेको यथार्थ झल्काउँछ। गाउँका दुई साथीमध्ये एकले आफ्नो सपना पूरा गर्न सहर हिँड्ने बेलामा गाउँको साथीसँग गरेको बिदाइको संवाद समावेश छ। घर छोड्ने बेलामा आमाको अनुहारसमेत हेर्न नसकेको कारुणिक संवादले आम नेपाली युवा कसरी मनलाई गाँठो पारेर सहर र खाडी पसिरहेका छन् भन्ने देखाउँछ।

‘जनै हराएको बाहुन’को थिम संवाद सार्वजनिक गर्दै निर्माणपक्षले नयाँ अफरको घोषणा गरेको छ। थिममा रहेको गीत गाएर टिकटक बनाएर पोस्ट गर्नेलाई यो चलचित्रको गीत गाउन अवसर दिइने छ । उत्कृष्ट स्वर हुनेले यो अवसर पाउनेछ। उत्कृष्ट हुनेले अर्जुन पोखरेलको संगीत रहने गीतमा स्वर दिन सक्नेछन्।

यस फिल्ममा विजय बराल मुख्य भूमिकामा छन्। हिमाल न्यौपानको डेव्यु निर्देशनमा बन्ने फिल्मका असोसियट निर्देशक ‘प्रेमगीत ३’ का अभिनेता मनिष राउत छन्। साथै फिल्ममा उनको पनि अभिनय रहनेछ।

पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । नवीन गुरुङको छायांकन रहेको चलचित्रको निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आरके मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ छन्।‘जनै हराएको बाहुन’ लागि अन्य कलाकार र प्राविधिक टोलीको बारेमा केही दिनभित्रै सार्वजनिक गरिनेछ। चैतबाट छायांकन सुरु हुने यो फिल्म २०८२ सालमा रिलिज हुनेछ।


धेरै पढिएको