बैंक ग्यारेन्टीमार्फत एक करोड रुपैयाँ धरौटी बुझाएर रिहा भए रवि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एक करोड धरौटी बुझाएर रिहा भएका छन्। लामिछानेले बैंक ग्यारेन्टीमार्फत एक करोड रुपैयाँ धरौटी बुझाएका हुन्।
बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन गरेको आरोप लागेका रविलाई रुपन्देही जिल्ला अदालतले एक करोड धरौटी माग गरेको थियो। सोही अनुसार उनी आइतबार नै बैंक ग्यारेन्टीमार्फत एक करोड धरौटी बुझाएर रिहा भएका हुन्।
आइतबार न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ अनुसार धरौटीको व्यवस्था गर्ने निर्णय सुनाएको हो।अदालतले उपलब्ध प्रमाणका आधारमा लामिछानेले आरोपित कसुर नगरेको विश्वास गर्नुपर्ने कुनै ठोस आधार नदेखिएको भन्दै धरौटी माग गरिएको आदेशमा उल्लेख छ।
लामिछानेविरुद्ध माघ ६ गते सहकारी ठगी र संगठित अपराधको मुद्दा दर्ता गरिएको थियो। माघ ९ गते अदालतमा आफैं हाजिर भएका लामिछानेमाथि तीन दिनसम्म थुनछेक बहस भएको थियो।
लामिछानेलाई यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतबाट ६५ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी मुद्दामा माघ २ गते ६० लाख धरौटीमा रिहा गरिएको थियो।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस