मल्टिस्टार फिल्म पिताम्बरको टिजरमा प्रदिप र सौगातको एक्सन

के छ नेपाल
२९ पुष २०८१ १५:३५

काठमाडौं । चैत्र २९ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘पिताम्बर’को टिजर सार्वजनिक भएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि टिजर सार्वजनिक गरिएको हो ।

२ मिनेटको टिजरमा एक्सन प्रस्तुत गरिएको छ । कथावस्तुबारे टिजरले खुलासा गरिएको छैन । टिजर हेर्दा फिल्मको मेकिङ उच्च देखिएको छ । यो फिल्मको निर्माणका लागि ५ करोड बढि बजेट लागेको बताइएको छ ।

टिजरमा प्रदीपको पात्र हिंसात्मक देखिन्छ , ‘यहाँ महाभारत हुन्छ ’ यो संवादले प्रदिप कसैसँग बदला लिन चाहेको देखिन्छ । फिल्ममा दयाहाङ राई इन्स्पेक्टरको भूमिकामा छन् । टिजरको अन्तिममा हेलिकप्टरबाट सौगातको इन्ट्री भएको छ । ‘अब यो प्रचण्ड गर्मीमा शीतलहर चलाउने जिम्मा मेरो ’ टिजररको अन्तिममा सौगातको यो संवाद हो । यसपछि उनी एक्सनमा उत्रिन्छन् ।

टिजरमा प्रमोद अग्रहरी, अनुपविक्रम शाही, सुरक्षा पन्त, दिव्यदेव, दिव्या रायमाझी, सुपुष्पा भट्ट लगायत पनि चित्रित छन् । टिजरले दर्शकमा फिल्मको पखाई बढाउने निश्चित छ ।

मल्टिस्टारर कलाकार भएका नाताले पनि यो फिल्मले चर्चा पाउने देखिन्छ । फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुप विक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, टिका पहाडी, सुरवीर पण्डित, विशाल पहारी, दिव्य देव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव बिष्ट, आशिष पुरुष लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

कृषा चौलागाइको निर्देशनमा तयार भएको फिल्ममा विशाल चौलागाइको लगानी छ । पुरुषोत्तम प्रधान, आध्या लामिछाने, आरोह चौलागाई सह–निर्माता रहेको फिल्ममा सुमन गौतम कार्यकारी निर्माताको रुपमा छन् ।

फिल्ममा प्रदीप भारद्वाज र अभिमन्यु निरवीको डीओपी, शेर बहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन छ । फिल्ममा आशिष अविरल, बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ भने हिमाल केसीको एक्सन रहेको छ ।


धेरै पढिएको