रवि हिजो कास्की अदालतबाट धरौटीमा रिहा , आज काठमाडौं अदालतमा उपस्थित हुदै
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट धरौटीमा बिहीबार रिहा भएका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदैछन् ।
लामिछानेविरूद्ध काठमाडौंमा पनि स्वर्णलक्ष्मी सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उनी आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित हुन लागेका हुन् ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज कुमार राईको आदेशमा लामिछाने ६५ लाख धरौटी बुझाएर प्रहरी हिरासतबाट छुटेका थिए ।
उनलाई आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने कागज गराई विहीबार परिवारको जिम्मा लगाइएको थियो । कास्की जिल्ला अदालतबाट छुटेपछि प्रहरीले पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर लामिछानेलाई परिवारको जिम्मा लगाएको थियो ।
रविसँगै छविलाल जोशी, लीला पछाईँ, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ र आरती गुरूङ पनि धरौटी रकम बुझाएर रिहा भएका छन् ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस