हलमा तीन नेपाली चलचित्र प्रदर्शनमा

के छ नेपाल
२५ फागुन २०८० १६:४७

काठमाडौँ । महाशिवरात्रि र नारी दिवसको अवसर पारेर हलमा तीन नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । देशभक्ति भावनाको काँडेतार, ग्याङस्टार जनराको रंगेली र समसामयिक विषयको उपहार ।

नवल खड्काको निर्देशनमा तयार भएको काँडेतारले नेपाल भारत सिमा सम्बन्धि समस्याको बारेमा कुरा गर्छ । फिल्ममा नेपालले सिमा अतिक्रमणबाट भोग्नु परेको समस्या देखाइएको छ । फिल्ममा नवलको साथमा गोरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, संजय खतिवडा, राजेन्द्र भगत लगायतको अभिनय छ ।

अर्जुन सुवेदीको लेखन तथा निर्देशनमा तयार भएको रंगेली ग्याङस्टार जनराको फिल्म हो । फिल्ममा मोरङको रंगेली क्षेत्रमा हुने अपराधको कथा देखाइएको छ । सत्ता र शक्तिको संर्घषको वरिपरि फिल्मको कथा घुमेको छ । फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, रमेश बुढाथोकि लगायतका कलाकारको अभिनय रहेको छ ।

यस्तै, लामो समयपछि रेखा थापाले कमब्याक गर्ने भनिएको चलचित्र उपहार पनि आजैबाट प्रदर्शन हुँदैछ । तीन महिला पात्रको कथा देखाइएको फिल्ममा समसामयिक विषयबस्तुलाई केन्द्रमा राखिएको छ ।
ज्ञानेन्द्र देउजाले निर्देशन गरेको फिल्ममा रेखा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुषाल, तेज गिरी, समर्पण कार्की लगायतका कलाकारको अभिनय रहेको छ ।

एकसाथ तीन नेपाली फिल्म प्रदर्शन हुँदा दर्शकलाई कुन फिल्म हेर्ने भन्ने समस्या त छँदै छ यसले फिल्मको व्यापारमा पनि असर गर्ने देखिन्छ ।


धेरै पढिएको