एकातर्फ स्मार्टल्याण्ड रे ! अर्को तर्फ धूलो,हिलोल्याण्ड किन ?

के छ नेपाल
३० माघ २०८१ १०:०६

बेलौरी । बेलौरीका मुख्य बाटाहरूको अवस्था लगातार खराब हुँदै गएको छ। यहाँका बासिन्दाहरूले आफ्नो दैनिक जीवनमा धूलो, हिलो र गड्ढाहरूले भरिएका बाटाहरूको सामना गर्न बाध्य छन्।

बेलौरीबजार लक्ष्मी स्वीट पूर्वतर्फको बाटो, महाकाली मा बी पश्चिम तर्फको बाटो, बेलौरी पानी ट्यांकी उत्तरपट्टीको बाटो जस्ता मुख्य बाटाहरूको अवस्था सुधार्ने काममा कसैको चासो देखिदैन । लक्ष्मी स्वीट देखि पूर्वतर्फको बाटोमा दुर्घटनामा परि केहिदिन अघि एक विद्यार्थीको ज्यान गएको थियो ।

बेलौरीका शिक्षक लक्षमण दियालले यस विषयमा आफ्नो गहिरो चासो देखाएका छन । उनले स्थानीय नेतृत्वलाई बाटाहरूको अवस्था सुधार गर्न तत्काल कदम चाल्न आग्रह गरेका छन्।

उनि लेख्छन :

आखिर किन ?

एका तर्फ स्मार्टल्याण्ड रे,
अर्को तर्फ धूलोरहिलोल्याण्ड, किन ?
अर्को तर्फ मान्छेहरु बस्दैनन् र,
अर्को तर्फ मान्छेहरु हिँड्दैनन् र ?
अर्को तर्फका जनताले,
खाजुरिया गएर भोट हालेका हुन र ?
की त यसै बाटो कै कारण,
अझ थप मानव बलि चड्नु पर्ने हो,सर्वसाधारणले ?

यस बाटोलाई पिच बनाउने भनेको दशक पुग्न थाल्यो,
अनि, पिच नबनेसी केही आन्दोलनपछि,
फेरी ललीपप (पानी पिच) बनाउने भनेको पनि महिनै कटेछ,
पानी पिचको सट्टा, पानी कीच(हिलो) चाहिँ बनेछ,
ठूला बड़ा नेताहरुले पनि आश्वासन दिएको नी महिनै कटेछ !

हरेक साना ठूला कुराको लागि
जनताले रुनु, कराउनु पर्ने,
आन्दोलन गर्नु पर्ने, आखिर किन?
आखिर कैलसम्म ?

ब्युझा अगुवा अघि आऊ,
जिउँदा अगुवा अघि आऊ,
चहराई रहेछ, बेलौरीको तमाम घाउ,
एकपल्ट आफ्नो छातीमा राख हात,
र,
जन्म दिने आमाको र, जन्मभूमिको कसम खाऊ,
र, अरूका घाउमा मलम लगाऊ !

 

बेलौरीबजार लक्ष्मी स्वीट पूर्वतर्फको बाटो, महाकाली मा बी पश्चिम तर्फको बाटो, बेलौरी पानी ट्यांकी उत्तरपट्टीको बाटो ऐले पिच नै नभए नि सामान्य समथल या अल्ली राम्रो बाटो बनाउन त प्रदेश, केन्द्र ताक्नै पर्ने जस्तो त लाग्दैन। यी बेलौरीका सबैभन्दा बढी चल्तिका बाटोहरू हुन्।

असल कार्यहरुमा धन्यबाद छ तर अत्यन्तै अनुत्तरदायी कार्यहरु प्रति घोर आपत्ति र विरोध छ।

 


धेरै पढिएको